top of page
  • Black Facebook Icon
  • Black Twitter Icon
  • Black Instagram Icon

स्थानीय तह निर्वाचनमा राजनीतिकरण नगर ! निर्वाचन मिति तत्कालै घोषणा गर !

Jan 26, 2022
2 min read

स्थानीय तह निर्वाचन सम्बन्धी ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा गर्न नेपाल सरकारलाई हामी आग्रह गर्दछौँ । स्थानीय निर्वाचनलाई आफ्नो सत्ता यात्रालाई सहज बनाउने साधनको रूपमा नलिई त्यसमा आउने रिक्तताले त्यसको सञ्चालनमा आउने कठिनाइ, संविधान संसोधन नगरी कानुन मात्रै संसोधन गर्दा त्यसले गर्ने संविधानको उलङ्घन, तथा स्थानीय तह निर्वाचन सम्बन्धी ऐन, २०७३ बनाउन यिनै दलका नेतृत्वले खेलेको भूमिका आदि विषयलाई ध्यानमा राखी स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सरकारले गर्नुपर्ने सहजीकरणको काम तत्कालै सुरू गर्न नेपाल विवेकशील पार्टी सरकारसमक्ष आग्रह गर्दछ ।

नेपालको संविधान २०७२ मा स्थानीय तहका सभाहरूको कार्यावधिको बारेमा गरिएको व्यवस्थालाई ध्यानमा दिँदै स्थानीय तह निर्वाचन सम्बन्धी ऐन, २०७३ लाई पारित गर्न जिम्मेवार दलहरू नै अहिले यी दुई व्यवस्था बाझिएकाले उक्त ऐनको संसोधन हुनुपर्छ भनी जिकिर गरिरहेको स्थिति राजनीतिक बेइमानी हो । आफ्नो क्षणिक राजनीतिक लाभको लागि खेलका नियम नै परिवर्तन गर्न खोज्नु र त्यसलाई कानुनी बैधता दलको नुनको सोझो गर्ने कानुन व्यवसायीहरूबाट गराउन खोज्नुले लोकतान्त्रिक तथा संघीय व्यवस्था संस्थागत हुने दिशातर्फ देश अगाडि नबढ्ने प्रस्ट संकेत हो । केपी ओलीको अधिनायकवादको विरूद्ध लड्दा नागरिकहरूको ठूलो पंक्तिले दिएको साथबाट बनेको यस गठबन्धनको सरकारले यस्तो गतिविधि गर्नु लोकतन्त्रलाई संस्थागत गराउने भनी यस गठबन्धनले गरेको प्रतिबद्धताप्रति भद्दा ठट्टा हो ।

स्थानीय तहको निर्वाचन समयमा नगर्दा हुने रिक्ततालाई संवोधन गर्ने कुनै पनि संवैधानिक विकल्प नहुने र त्यसले नागरिकहरू सेवा प्रवाहबाटै बञ्चित हुनुपर्ने स्थिति रहेको छ । यो संविधानको मर्म विपरीत छ । त्यसको लागि सम्बन्धित संघीय कानुनको संसोधन पनि असंवैधानिक नै हुने ठहर्छ । हामीले २०५९ मा यस्तै राजनीतिक दाउपेचबाट सीमित अधिकारको भए पनि स्थानीय निकायलाई रिक्त राख्दा १५ वर्षसम्म जनप्रतिनिधि नआउने अवस्था बन्यो । त्योबेला यो निर्णय गर्ने व्यक्ति नै पनि अहिलेका सरकार प्रमुख रहेकोमा निजले लोकतन्त्रप्रति आफ्नो प्रतिबद्धतालाई पुन: प्रश्न उठाउन नमिल्ने बनाउन पनि समयमा नै निर्वाचन गर्नेतर्फ अडान लिई सरकारको तर्फबाट आवश्यक निर्णय तत्कालै गर्नुपर्छ ।

समयमा नै निर्वाचन नभए लोकतन्त्र संस्थागत हुन नसक्ने भएकाले सबै एकजुट भई सरकारलाई खबरदारी गर्न नेपाल विवेकशील पार्टी सम्पूर्ण नागरिक, नागरिक समाज तथा राजनीतिक दलहरुलाई आह्वान गर्दछ ।

सबैको भलो होस् !

विजय बाबु शिवाकोटी प्रवक्ता नेपाल विवेकशील पार्टी २०७८ साल माघ १२ गते, बुधवार



Comments


bottom of page