top of page
  • Black Facebook Icon
  • Black Twitter Icon
  • Black Instagram Icon
Marble Surface

हाम्रा  मूल्य-मान्यता

हामीले निर्दिष्ट गरेका हाम्रो लक्ष्य प्राप्तिका लागि हाम्रो मार्गदर्शक विचारले निर्देश गरेको दिशामा विचलित नभई अघि बढ्नका लागि हामीले पहिचान गरेका केही निश्चित मूल्य/मान्यतालाई अनुभूत गर्दै अनुशासनमा बाँधिनु अनिवार्य छ। नत्र हामीलाई पनि थाहै नपाई अहिलेको राजनीतिक विसंगतिले गाँज्नेछ।

“जे रोपिन्छ, त्यही फल्छ। कागतीको बोटमा आँप फल्दैन।”

हामीलाई व्यक्तिगत रुपमा बाटो देखाउने मूल्य मान्यता निम्न रहनेछन् (behaviour related personal values):

१. निष्ठा (integrity)

व्यक्तिगत स्वार्थलाई मात्र प्रोत्साहन गर्ने र सामूहिक हित र सेवालाई तिरस्कार गर्ने मात्र होइन कि निमोठ्नै खोज्ने सामाजिक प्रवृत्तिलाई तुरुन्तै रुपान्तरण गर्नु जरुरी छ। यसो गर्न देशमा नागरिकहरु निष्ठावान् बन्नु अपरिहार्य छ। कुनै पनि निष्ठावान् नागरिक आफ्नो काम-कार्यप्रति पनि पूर्ण इमान्दार रहन्छ र नैतिकतामा अडिग रही सत्यको पक्षमा निरन्तर पहल गरिरहन्छ। निष्ठावान् नागरिकको बोली र व्यवहारमा फरक हुनु हुँदैन। निष्ठावान् नागरिक नै भ्रष्ट समाज सफा गर्ने माध्यम हुन्। निष्ठावान् नेतृत्वले क्षणिक र व्यक्तिगत लाभलाई भन्दा नागरिक र देशको दीर्घकालीन हित हुने कार्य गर्छ।

२. पारदर्शीता (transparency)

भ्रष्टाचार नेपाली समाजमा नेतृत्वदेखि आम नागरिकसम्म क्यान्सर जसरी फैलिएको अवस्था छ। यस्तो सामाजिक क्यान्सर विरुद्धको सबैभन्दा बलियो अस्त्र भनेकै हरेक नागरिकमा पारदर्शीताको संस्कार स्थापित गर्नुपर्छ। आफू पनि पारदर्शी हुने र अरुबाट पनि यही अपेक्षा गर्ने सु-संस्कार नागरिकहरुमा विकास गराउन सके समाजमा भ्रष्टाचारले जरो गाड्न गाह्रो हुन्छ। साथै, भ्रष्टाचारका कारक तत्वहरु टाढैबाट छर्लङ्ग देखिन थाल्छन्। विवेकशील नागरिकहरु आफ्ना कार्यहरुमा पारदर्शी रहन्छन्।

३. साहस (courage)

साहस विना जति बुद्धिजीवी व्यक्तिले पनि आफ्नो ज्ञानको सदुपयोग गर्न आँट गर्दैनन्। अहिले नेपालमा यति धेरै अन्याय र अत्याचार देख्दा र खेप्दा पनि हामी प्राय: चूप छौँ।  विवेकको पनि प्रयोग गर्ने साहस नहुँदा समाजमा भरिपूर्ण व्यक्तिगत रुपमा उत्कृष्ट नेपालीहरु सामूहिक रुपमा सफल हुन सकेका छैनन्। सत्य स्थापित गर्न साहस गर्नेहरु नै विवेकशील हुन्छन्।

४. समानुभूति (empathy)

नेपालमा विविध उमेर, समुदाय, वर्ग, पेशा, लिङ्ग, भूगोल र सोचका मिश्रणका भरमा नेपालीहरुले विविध पहिचान बनाएका छन्। यस्तो विविध सोच, विचार र धारणाले भरिएको नेपाली समाजमा एक-अर्काका सोच, विचार र व्यथालाई समान अनुभूति गर्न सक्ने समावेशी संस्कार हामीले विकास गरे मात्र यो देश शान्त र संवृद्ध देश बन्न सक्दछ। विविधताले भरिएको नेपालमा एक-अर्का प्रति समानुभूति अभ्यास गर्न सक्ने विवेकशील नागरिकले नै समाजलाई एक जुट राखिराख्न सक्छन्।

५. विनम्रता (humility)

मै मात्र सक्छु, मैले मात्र जानेको छु, मेरै गोरुको बाह्रै टक्का जस्तो अहमले ग्रस्त नेपाली समाजलाई सही मार्गमा ल्याउन यहाँ विनम्र नागरिक अगुवाहरुको अत्यन्त खाँचो छ। आफू बारे कमै सोची अरुको बारेमा बढी सोच्ने, आफू एक्लैले मात्र सकिन्न, अरु पनि चाहिन्छ भन्ने विनम्रता आम नेपालीभित्र ल्याउन सके मात्र अहिलेको स्वार्थीपनाले जरो गाडेको समाज क्रमश: सहनशील र राष्ट्रप्रेमी बन्दै जान्छ।

६. उत्कृष्टता (excellence)

आफू पनि उत्कृष्ट बन्न कम्मर कस्ने अनि अरुको उत्कृष्टतालाई पनि उचित कदर गर्ने नागरिकले नै नेपालमा आत्मसम्मान, सहिष्णुता र संवृद्धि भित्र्याउँछ। अहिले हरेक नेपालीभित्र नङ्ग्रा गाडेको नातावाद, कृपावाद, जातीय अहंकारवादका कुसंस्कारलाई उखेल्न कर्मलाई संस्थागत गराउनु जरुरी छ जसले गर्दा नेपाली समाज उत्कृष्टता, नवीनता र सिर्जनशीलताको भरमा अडिग रहन्छ न कि वंश, नाता वा कृपावादमा। आफूलाई उत्कृष्ट बनाउन हामी निरन्तर प्रयासरत रहनेछौं।

 

“सँगै सफल”

 

हामीलाई संस्थागत रुपमा चुस्त बनाउने मूल्य-मान्यता निम्न रहनेछन् (process related institutional values):

१. जवाफदेहीता (accountability)

कुनै पनि कामको जिम्मेवारी लिए पछि त्यसलाई फत्ते गर्नु पर्छ। केही कारणवस काम हुन सकेन भने कारण सहित समयमा नै भन्नु पर्छ। गल्ती भएमा माफी माग्नुपर्छ र गल्ती सुधार्ने प्रयास गर्नुपर्छ । पद भनेको जिम्मेवारी हो। व्यक्तिगत पारदर्शीताको साथसाथै संस्थागत पारदर्शीताको अवलम्बन गर्न प्रतिबद्ध छौँ।

२. कार्य कौशलता (efficiency)

भरे भोलि भन्ने र जे जसो गरे पनि हुने प्रवृत्तिले हाम्रो समाज ग्रसित छ। समय र कामलाई सम्मान गर्दै खोजेको नतिजा समयमा नै निकाल्न कौशलतापूर्वक कार्य गर्नुपर्छ। यसको लागि प्रविधिको सदुपयोग गर्नेदेखि  प्राथमिकताको आधारमा काम गर्ने र व्यवस्थापनमा सुधार हुनुपर्छ।

३. ठगी, भ्रष्टाचार, हिंसा, उत्पीडन, भेदभाव विरुद्ध शून्य सहनशीलता (zero tolerance for fraud, corruption, violence, harassment, discrimination)

ठगी, भ्रष्टाचार, हिंसा, उत्पीडन, भेदभावलाई हामी गम्भीरतापूर्वक लिन्छौं। गल्ती गरेको खण्डमा वा सांगठनिक/योजनाबद्ध रुपमा भएको गल्तीलाई कारवाही (पार्टीबाट निष्काशन समेत) गर्नेछौं। कसैले अन्जानमा गल्ती गरेको भए र माफी मागेमा, गल्तीको प्रकृति हेरी त्यो व्यक्तिलाई सुध्रिने मौका दिन्छौं।

४. समावेशीता (inclusion)

समावेशीकरण, महिला, सीमान्तकृत वर्ग र क्षेत्रको विषय मात्र नभई सबैको साझा विषय हो। समाजमा एउटा वर्ग वा लिङ्ग वा क्षेत्र पिछडिनु भनेको पूरै समाजलाई हानि हुनु हो। हामीले सबैको आवाज सुन्ने र सुनाउने वातावरण बनाउनु पर्छ। समाजको प्रतिबिम्ब हाम्रो संगठनमा पनि देखिनु पर्छ। हामीले परिकल्पना गरेको समावेशीताले यो समाजलाई सबल र अब्बल बनाउनेछ। यसको लागि समावेशिता अपरिहार्य छ। 

५. सुयोग्यता (meritocracy)

योग्यता भनेको उपाधि मात्रै होइन, सीप, अनुभव र क्षमता पनि हुन्। कतिपय काममा पढाइ लेखाइ (डिग्री) महत्वपूर्ण होला भने अन्य विषयमा अनुभव र क्षमताको बढी महत्व हुन्छ। कला र साहित्यमा अल्लगै योग्यताको मापदण्ड लागु हुन्छ भने व्यवस्थापन वा नीति निर्माणमा बेग्लै मापदण्ड हुन्छन्। तसर्थ, योग्यता भन्ने विषय कुन परिणाम वा कामको लागि हो त्यसमा आधारित हुनुपर्छ।

६. आन्तरिक सहभागितामूलक लोकतन्त्र (internal participatory democracy)

पार्टीका गतिविधि तथा नीतिमा आफ्ना कुरा राख्न नहिच्किचाइ राख्न प्रोत्साहित गरिन्छ र त्यसको लागि उपयुक्त संरचनाहरू पनि बनाइनेछ। कसैले बोलेको कुरा वा गरेको काम कानूनले बर्जित नगरेको हदसम्म बोल्न र गर्न पाइन्छ। आफ्नो अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दा अरुको स्वतन्त्रतामा आँच नआउने गरि गरिनेछ र विनम्रतालाई पनि ध्यान दिइनेछ।

विधानमा उल्लेख भए अनुसार आ-आफ्नो काम, कर्तव्य तथा अधिकार प्रयोग गर्नु सबै समितिको जिम्मेवारी हो। यी कामहरू गर्दा पनि आम सदस्य तथा समितिका सदस्यहरूको यथेष्ट तवरले सहभागी हुन दिनुपर्छ।

Values.png
bottom of page